रसुवा बाढी : मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै सम्पर्कविहीन
रसुवा–भोटेकोशी बाढीमा हालसम्म १ हजार ४११ जनाको मृत्यु पुष्टि भएको छ भने ५ हजार ८७५ जना अझै सम्पर्कविहीन छन् । खोजी तथा उद्धारका क्रममा १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको छ ।
वि.सं.२०८३ असोज ४ आइतवार ०९:२५
shares

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति, सम्पर्कविहीन तथा उद्धारसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार ८७५ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये रसुवाका ३ हजार ५१३ जना, नुवाकोटका १ हजार ८३६ जना र विदेशी नागरिक ६३६ जना रहेको विवरणमा उल्लेख छ । तथ्यांक प्रमाणीकरण तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या घटबढ हुन सक्ने जनाइएको छ ।हालसम्म फेला परेका मृतक तथा मानव अवशेषमा ५४९ पुरुष, ३३६ महिला तथा ५२६ वटा आंशिक मानव अवशेष रहेको विवरण सार्वजनिक गरिएको छ ।
बाढीका कारण सबैभन्दा धेरै मानवीय क्षति चितवनमा ३६४ जनाको भएको छ । त्यसैगरी नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।यसैगरी काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको विवरण जिल्लागत तथ्यांकमा समावेश गरिएको छ ।
बाढीपछि सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको छ । विपद्पछि उद्धार, राहत तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बलले हवाई साधनसमेत परिचालन गरेका छन् । नेपाली सेनामार्फत हालसम्म १ हजार ६९२ वटा हवाई उडान तथा सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएको विवरणमा उल्लेख छ ।
सरकारी निकायहरूले सम्पर्कविहीन व्यक्तिको खोजी, फेला परेका शव तथा मानव अवशेषको पहिचान र उद्धार गरिएका व्यक्तिको व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले समेत बाढीपछि सम्पर्कमा नआएका व्यक्ति, शव संकलन तथा उद्धारसम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।बाढीबाट प्रभावित जिल्लाहरूमा खोजी तथा उद्धारसँगै राहत र पुनःस्थापनाका कामसमेत अघि बढाइएको छ ।















