सरकार असफल होस् भन्ने कांग्रेसको चाहना छैन : विश्वप्रकाश शर्मा
प्रतिपक्षमा रहे पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्न कांग्रेसले सहयोग गरेको दाबी, देउवाले सबैको कुरा सुन्ने र युवालाई अघि बढाउने अपेक्षा व्यक्त।
वि.सं.२०८३ साउन २९ शुक्रवार १८:०९
shares
काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले प्रतिपक्षी दलले सामान्यतया सरकारको असफलता अपेक्षा गर्ने राजनीतिक संस्कार भए पनि कांग्रेसले त्यस प्रकारको धारणा नलिएको बताए।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसको प्रत्यक्ष असर समाजमा पर्ने भएकाले कांग्रेसले आवश्यक अवस्थामा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको छ।सरकारको असफलता हामी चाहँदैनौँ। सामान्यतया प्रतिपक्षबाट सरकार असफल होस् भन्ने अपेक्षा गरिन्छ, तर कांग्रेसले प्रतिनिधिसभामा अवरोध गरिरहेकै दिन राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गरेको थियो, शर्माले भने।
शर्माले कांग्रेस विगतभन्दा फरक ढंगले अघि बढिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्ताले केन्द्रले अघि सारेको नयाँ अभियानलाई आत्मसात गर्नुपर्ने बताए। उनले पार्टीभित्र सबै पक्ष एकताबद्ध भएर परिवर्तनको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।उनले निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयपछि काठमाडौं फर्किएको स्मरण गर्दै देउवाबाट सबै नेताकार्यकर्ताको धारणा सुन्ने प्रतिबद्धताको अपेक्षा गरिएको बताए।
शर्माका अनुसार देउवाले लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई नेतृत्वमा अघि बढाउने प्रतिबद्धता जनाइसकेकाले आगामी राष्ट्रिय सम्मेलनले पनि त्यसलाई प्राथमिकतामा राख्नुपर्नेछ।हाम्रो अपेक्षा थियो, उहाँले देश फर्किएपछि सबैको कुरा सुन्न चाहन्छु भन्नुहुन्थ्यो। यद्यपि लिखित रूपमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अघि बढाउने प्रतिबद्धता आएको छ, उनले भने। शर्माले नेपाली कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत नयाँ परिवर्तनको अध्यायमा प्रवेश गरिसकेको दाबी समेत गरे।














