विश्वकपको पहिलो क्वार्टरफाइनल आजः फ्रान्सको चुनौती मोरक्को
वि.सं.२०८३ असार २५ बिहीवार १७:२४
shares

काठमाडौं, २५ असार। सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वार्टरफाइनल खेल आज राति हुँदैछ। उपाधि दाबेदार फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने भएको हो।यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजे बोस्टन स्टेडियममा हुनेछ।
फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले हालसम्म सात गोल गरिसकेका छन्। आठ गोलसहित लियोनेल मेस्सी गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेकाले एम्बाप्पेले यस खेलमा गोल गर्न सके मेस्सीलाई उछिन्ने सम्भावना रहनेछ।
फ्रान्स र मोरक्कोबीच हालसम्म ६ अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये फ्रान्सले चार खेल जितेको छ भने मोरक्कोले एक खेल जितेको छ। एउटा खेल बराबरीमा सकिएको थियो।
विश्वकप इतिहासमा यी दुई टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो। त्यस हारको बदला लिने लक्ष्यसहित मोरक्को मैदान उत्रनेछ।
यस विश्वकपमा फ्रान्स अपराजित छ। समूह चरणमा नर्वेलाई ४–१, इराकलाई ३–० र सेनेगललाई ३–१ ले हराएको फ्रान्सले राउन्ड अफ ३२ मा स्वीडेनलाई ३–० तथा राउन्ड अफ १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
मोरक्को पनि प्रतियोगितामा अपराजित रहँदै अन्तिम आठमा पुगेको छ। समूह चरणमा हाइटीलाई ४–२ र स्कटल्याण्डलाई १–० ले हराएको मोरक्कोले ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो।राउन्ड अफ ३२ मा नेदरल्यान्ड्ससँग निर्धारित समय १–१ को बराबरी भएपछि मोरक्कोले पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्यो। त्यसपछि राउन्ड अफ १६ मा क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।
फ्रान्सले उत्कृष्ट फिनिसिङका लागि एम्बाप्पेमाथि भरोसा गर्नेछ भने मोरक्कोले कप्तान तथा स्टार डिफेन्डर असरफ हाकिमीको नेतृत्वमा फ्रान्सको आक्रमण रोक्ने प्रयास गर्नेछ। कागजमा फ्रान्स बलियो देखिए पनि मोरक्कोले यस विश्वकपमा ठूला टोलीलाई चुनौती दिँदै आएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

















