एक महिना लामो स्वस्थानी व्रत आज टुंगिँदै
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको व्रत आज पूजा, अर्घ्य र जाग्रामसहित देशभर सम्पन्न गरिँदै
वि.सं.२०८२ माघ १८ आइतवार १०:१९
shares

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको यो व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीले देशभर श्रद्धापूर्वक सम्पन्न गरेका छन्।
एक महिनासम्म नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएको व्रत आज विशेष पूजाआजा, अर्घ्य अर्पण र जाग्रामसहित समापन गरिँदैछ। यस अवधिमा स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा आधारित स्वस्थानी कथा वाचन–श्रवणको परम्परा पनि आजै टुंगिँदैछ।व्रत समापनका अवसरमा १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूलसहित धुप, बत्ती, नैवेद्य अर्पण गरी भगवतीलाई अर्घ्य दिने धार्मिक विधि रहेको छ। अर्पण गरिएका सामग्रीमध्ये तोकिएको अंश पति, छोरा वा मित छोरालाई दिने र त्यो सम्भव नभए पवित्र नदीमा विसर्जन गर्ने चलन छ।रातभर जाग्राम बसेर देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परालाई मनोकाङ्क्षा पूर्तिसँग जोडेर हेर्ने धार्मिक विश्वास रहिआएको छ। स्वस्थानी शब्दले ‘आफू बसेको स्थानकी देवी’ जनाउने मान्यता छ भने उत्तरायणको समय आत्मचिन्तन र साधनाका लागि उपयुक्त हुने विश्वास पनि रहेको छ।
व्रतकथाअनुसार विधिपूर्वक स्वस्थानी व्रत गरेमा रोग निवारण, बिछोड भएका जोडीको पुनर्मिलन तथा मनोकामना सिद्ध हुने विश्वास गरिन्छ। सत्ययुगमा पार्वतीले महादेवलाई पति प्राप्त गर्न स्वस्थानी व्रत गरेको कथा यसै ग्रन्थमा उल्लेख छ।साँखुको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको गोमा ब्राह्मणी र राजा नवराजको कथाले स्वस्थानी व्रतको सामाजिक तथा सांस्कृतिक महत्व झल्काउने इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिएका छन्।नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि पूजा सम्पन्न गरी राति जाग्राम बसेर सोमबार बिहान फूलपाती नदीमा सामग्री सेलाएपछि यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा सम्पन्न हुनेछ।
यसैबीच, उपत्यकाको शालिनदीमा एक महिना लामो माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदैछ। उक्त व्रतमा १६२ महिला र १५ पुरुष सहभागी थिए। माघ शुक्ल पूर्णिमालाई नेवार समुदायले ‘सि पुन्हि’ का रूपमा पनि मनाउँदै आएका छन्।















