नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट बन्दसत्रमा, निर्णायक बहस सुरु
वि.सं.२०८२ पुस २८ सोमवार ०९:५०
shares

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक मोडमा प्रवेश गरेको छ।भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशन आज (सोमबार) बिहान १० बजेदेखि बन्दसत्रका साथ औपचारिक बहस र निर्णय प्रक्रियातर्फ अग्रसर हुँदैछ।पार्टीको भावी दिशा, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशाबारे गहिरो छलफल हुने बन्दसत्रलाई विशेष महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
यसअघि आइतबार उद्घाटन सत्र सम्पन्न भएसँगै कार्यक्रम आजबाट आन्तरिक छलफल केन्द्रित चरणमा प्रवेश गर्न लागेको हो।व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र सुरु हुनुअघि आज बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको पुनः नाम दर्ता सुरु गरिएको छ। उद्घाटन सत्रपछि आइतबार रातिबाट अस्थायी रूपमा रोकिएको दर्ता प्रक्रिया आज बिहानदेखि फेरि निरन्तरता पाएको उनले जानकारी दिए।
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेको तथ्यांक सार्वजनिक गरिएको छ। नेता युवराज पाण्डेयका अनुसार यो संख्या कुल प्रतिनिधिको ५६ दशमलव १२ प्रतिशत हो। बाँकी प्रतिनिधिहरू पनि क्रमशः दर्ता प्रक्रियामा सहभागी हुँदै जाने अपेक्षा गरिएको छ।बन्दसत्रमा पार्टीको विधान, समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति र आन्तरिक मतभेदका विषयमा प्रतिनिधिहरूबीच खुला बहस हुने बताइएको छ। विशेष महाधिवेशनबाट पार्टीभित्र देखिएका विवाद र असन्तुष्टिलाई सम्बोधन गर्दै साझा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरूको भनाइ छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीभित्र एकता मजबुत बनाउने र आगामी राजनीतिक यात्राको स्पष्ट खाका कोर्ने अपेक्षा गरिएको छ।
















