नेपाल पर्यटनमा सुधार: २०२५ मा ११ लाखभन्दा बढी विदेशी पर्यटक आगमन
वि.सं.२०८२ पुस १८ शुक्रवार ०९:५२
shares
फाइल तस्वीर
काठमाडौं । नेपालमा सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । डिसेम्बरको आगमनसमेत जोडिँदा सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख नाघेको हो ।
पर्यटन बोर्डका तथ्यांकअनुसार सन् २०२५ मा नेपाल आउने विदेशी पर्यटकमध्ये भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ । उक्त वर्ष भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । खुला सिमाना, धार्मिक तथा सांस्कृतिक पर्यटन, छोटो दूरीका कारण भारतीय पर्यटकको संख्या उच्च देखिएको पर्यटन बोर्डले जनाएको छ ।
भारतपछि अमेरिका दोस्रो स्थानमा रहेको छ । सन् २०२५ मा अमेरिकाबाट एक लाख १२ हजार ३१६ पर्यटक नेपाल आएका छन् । त्यस्तै, चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, र बंगलादेशबाट ५७ हजार ५४५ पर्यटक नेपाल आएका छन् ।
अष्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७, र जापानबाट २४ हजार ७६३ पर्यटक सन् २०२५ मा नेपाल आएका पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।
पर्यटन बोर्डका अनुसार सन् २०२५ मा पर्यटक आगमनमा क्रमिक सुधार देखिएको छ । कोभिड–१९ पछिको पुनरुत्थान, अन्तर्राष्ट्रिय उडानको विस्तार, साहसिक, धार्मिक तथा प्राकृतिक पर्यटनप्रतिको बढ्दो आकर्षणले पर्यटक संख्या बढाउन सहयोग पुर्याएको बोर्डको विश्लेषण छ ।
पर्यटन व्यवसायीहरूले भने पर्यटक संख्या बढे पनि बसाइ अवधि र खर्च बढाउन थप रणनीति आवश्यक रहेको बताएका छन् । पूर्वाधार सुधार, पर्यटकीय सेवा गुणस्तर वृद्धि र नयाँ गन्तव्य प्रवर्द्धन गर्न सके आगामी वर्षहरूमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ ।















