आज विवाह पञ्चमी : जनकपुरमा श्रद्धा, संस्कृति र पर्यटनको संगम
वि.सं.२०८२ मंसिर ९ मंगलवार १०:३८
shares
फाइल तस्वीर
काठमाडौँ – मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमीउत्मिसव मिथिला सभ्यताको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक उत्सवआज जनकपुरधाममा भव्य रूपमा मनाइँदै छ। त्रेतायुगमा जनकनन्दिनी सीता र अयोध्याका राजकुमार रामको दिव्य विवाहको स्मरणमा मनाइने यो पर्व अहिले धार्मिक श्रद्धासँगै पर्यटन, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रको ठूलो पर्व बन्न थालेको छ।
जनकपुरधाममा आज बिहानदेखि नै भक्तजनको भीड बढ्न थालेको छ। जानकी मन्दिर परिसर, रंगभूमि क्षेत्र, राम मन्दिर, जनक चौक आसपासका सडक र बजारहरूमा पर्यटक, साधु–सन्त, स्थानीयवासी र भारतका सीमावर्ती क्षेत्रबाट आएका श्रद्धालुहरूको घुइँचो छ। होटल–लजदेखि यातायात र स्थानीय बजारसम्ममा आर्थिक गतिविधि धेरै बढेको जनाइएको छ।स्थानीय व्यवसायीहरूका अनुसार विवाह पञ्चमीका कारण हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको व्यापार हुन्छ, जसले जनकपुरको स्थानीय अर्थतन्त्रलाई ठूलो टेको दिने गरेको छ।शास्त्रीय अनुशारण अनुसार आज जनकपुरमा मटकोर, तिलकोत्सव, स्वयंवर झाँकी र वैवाहिक संस्कार प्रदर्शन गरिन्छ। राम मन्दिरबाट बाजागाजा र सांस्कृतिक झाँकीसहित रामको प्रतिमा विशेष डोला सिंहासनमा उठाइन्छ त्येसपछि जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा पुर्याइन्छ।
रंगभूमिमा आयोजित स्वयंवर विधि, धनुष परीक्षणको प्रतीकात्मक प्रस्तुति र अन्तिम वैवाहिक संस्कार हेर्न हजारौँको भीड लाग्ने अनुमान छ। उत्सवका कारण जनकपुरमा प्रहरी, शसस्त्र, ट्राफिक व्यवस्थापन तथा स्थानीय स्वयंसेवकहरूलाई ठूलो संख्यामा परिचालन गरिएको छ।डोलायात्रा, मेला, जनक चौक, रंगभूमि क्षेत्र लगायतका संवेदनशील स्थानमा सीसीटीभी र अतिरिक्त गस्ती टोली राखिएको स्थानीय प्रशासनले जनाएको छ।गत केही वर्षमा विवाह पञ्चमीमा देश–विदेशका भक्तजन, हिन्दू तीर्थयात्री, सांस्कृतिक अनुसन्धानकर्ता, पर्यटकहरु बढ्दै गएका छन्।
सरकार तथा स्थानीय तहहरूले विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने योजना अघि बढाइरहेका छन्। यस वर्ष पनि भारतको विभिन्न राज्यबाट ठूलो संख्यामा सहभागिता रहेको जनकपुरधाम उपमहानगरले जनाएको छ।एक समय तिरहुतियागाछी क्षेत्रमा एक महिना लामो उत्सवका रूपमा मनाइने विवाह पञ्चमी अहिले रंगभूमि केन्द्रित एक साता लामो सांस्कृतिक कार्यक्रमका रूपमा विकसित भएको छ। यस परिवर्तनले परम्परा संरक्षणसँगै व्यवस्थापनलाई सहज बनाएको स्थानीय सांस्कृतिक सरोकारवालाहरू बताउँछन्।










