नेपाली कांग्रेस नेता अफताव आलमको निधन
झन्डै चार दशकको राजनीतिक यात्राको अन्त्य
वि.सं.२०८२ कात्तिक २२ शनिवार १२:५३
shares
फइल तस्वीर
काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको गएराति साढे २ बजे उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उच्च रक्तचाप, मधुमेह र मस्तिष्कघातका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आलमलाई केही दिनअघि भेन्टिलेटरमा राखिएको थियो। उनका छोरा डा. राजीक आलमका अनुसार केही समयअघि भारतको मेदान्त अस्पतालमा उपचारपछि स्वदेश फर्काइएका आलमलाई फेरि समस्या देखिएपछि केएमसीमा भर्ना गरिएको थियो। गएको जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले रौतहट बमकाण्ड प्रकरणमा सफाइ दिएको केही दिनमै आलमलाई मस्तिष्कघात भएको थियो। त्यसयता उनी निरन्तर उपचाररत थिए।
नेता आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। कांग्रेसका प्रभावशाली नेता शेख ईद्रिसका भतिजा रहेका उनले २०५१ सालमा पहिलो पटक संसद प्रवेश गरे र त्यसयता रौतहट–२ बाट चारपटक प्रतिनिधित्व गरे। आलमले श्रम, वन, स्थानीय विकास तथा भूमिसुधार मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।
राजनीतिमा झण्डै चार दशक बिताएका उनले रौतहटमा कांग्रेसको राजनीतिक आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। रौतहटमा जन्मिएका नेता आलमका दुई छोरा र एक छोरी छन्। उनका कान्छा छोरा डा. राजीक आलम अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन्। नेता अफताव आलमको निधनले कांग्रेस मात्र होइन, रौतहटको राजनीतिक क्षेत्रमै ठूलो शून्यता ल्याएको टिप्पणी उनका सहकर्मीहरूले गरेका छन्। करिब चार दशकको राजनीतिक जीवनमा उतारचढाव, विवाद र संघर्षबीच पनि जनता बीच लोकप्रिय नेता बनेका अफताव आलमलाई उनका समर्थकहरूले संघर्षशील नेता का रूपमा सम्झिरहेका छन्।



















