सुरुङमार्ग निर्माणले तीव्रता लिँदै, सिद्धबाबामा प्रगति स्पष्ट देखिन थाल्याे
वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२१
shares
काठमाडौँ, ३१ असार ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरूङमार्गको निर्माण कार्यले हाल तीव्र गति लिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको यो सुरूङमार्गको ‘ब्रेक थ्रु’ पछि कार्य प्रगतिमा उल्लेख्य वृद्धि देखिएको छ । आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार हालसम्म सुरूङमार्गको भाैतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ । मुख्य टनेलको १,०८९ मिटर भुइँ भाग (इन्भर्ट) सकिएको छ भने ८३४ मिटर भागमा लेपन (लाइनिङ) कार्य सम्पन्न भएको बताइएको छ ।
हाल सुरुंगमार्ग भित्र थप २९२ मिटरमा लाइनिङ कार्य भइरहेको छ । तीन वटा बाइपास टनेलमध्ये पहिलो (१५१ मिटर), दोस्रो (१६१ मिटर) र तेस्रो (१३० मिटर) को इन्भर्ट र लाइनिङ कार्य पनि चरणबद्ध रूपमा सम्पन्न हुँदैछ । इञ्जिनियर ज्ञवालीका अनुसार, मुख्य सुरूङको लम्बाइ १,०८९ मिटर, चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहनेछ । इन्भर्ट र लाइनिङ सकिएलगत्तै लाइटिङ, सञ्चार र सुरक्षा उपकरण जडान सुरु हुने आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । हाल सुरुङमार्ग भित्र सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था निर्माण भइसकेको छ ।
जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायहरूको नियमित अनुगमन भइरहेको छ । अनुगमनकै क्रममा प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेले सुरुङमार्ग समयमै सम्पन्न गर्न जनप्रतिनिधिको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।यो सुरूङमार्ग २०७९ सालदेखि निर्माण सुरु गरिएको हो । बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि सुरू भई पाल्पाको दोभानसम्म १,१२६ मिटर लामो टनेल निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनलाई दिइएको हो । ७ अर्ब ३४ करोड रुपैयाँको लागतमा भइरहेको निर्माण कार्य २०८३ सालभित्र सक्ने लक्ष्य राखिएको छ ।
सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने यस सडक खण्डमा बारम्बार पहिरो जाँदा जनधनको क्षति हुँदै आएको थियो । सुख्खा मौसममा पनि धूले पहिरो खस्ने हुँदा यातायातमा अवरोध आउने भएकाले वैकल्पिक तथा सुरक्षित मार्गका रूपमा सुरूङमार्ग निर्माण थालिएको हो ।गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र म्याग्दी पुग्ने सवारीहरू यस सडकखण्ड प्रयोग गर्दै आइरहेका छन् । सुरूङमार्ग निर्माण सम्पन्न भएपछि यात्रामा समय बचत, सुरक्षाको प्रत्याभूति र यातायातको सहजता आउने अपेक्षा गरिएको छ ।












