आज गुरुपूर्णिमा : गुरुको सम्मान गरि मनाइँदै
वि.सं.२०८२ असार २६ बिहीवार १०:२०
shares

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी आज गुरुपूर्णिमा मनाइँदैछ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।
मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन् ।
गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ ।।












