आन्तरिक अनुशासन बलियो बनाउँदै रास्वपा, आकांक्षीका लागि स्पष्ट मापदण्ड
वि.सं.२०८२ पुस २५ शुक्रवार ०९:४३
shares
फाइल तस्वीर
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रियालाई अनुशासित, निष्पक्ष र सबैका लागि समान बनाउन कडाइ थालेको छ । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षी सदस्यहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले पछिल्लो समय औपचारिक रूपमा आवेदन नै नदिई सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा र प्रचार–प्रसार गर्ने प्रवृत्ति देखिएको जनाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका अनुसार यस किसिमको प्रचारले पार्टीभित्र नयाँ आकांक्षी तथा प्रक्रियामा विश्वास गरेर बसेका सदस्यहरू निरुत्साहित हुने अवस्था सिर्जना भएको छ ।यही कारण देखाउँदै उपसमितिले सामाजिक सञ्जालमार्फत् भइरहेको सबै प्रकारका उम्मेदवारी प्रचार तत्काल रोक्न निर्देशन दिएको छ । साथै, यसअघि फेसबुक, एक्स लगायतका प्लेटफर्ममा राखिएका उम्मेदवारीसम्बन्धी प्रचार सामग्रीहरू समेत हटाउन स्पष्ट भनिएको छ ।
समितिले उम्मेदवारका लागि आवेदन दिने सदस्यहरूका हकमा भने सीमित र मर्यादित अभिव्यक्तिको व्यवस्था गरेको छ । आवेदन दिइसकेका सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । तर त्यसमा पनि प्रचारमुखी भाषा, नारा वा भड्किलो प्रस्तुति प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।प्राइमरी निर्वाचन हुने अवस्थामा भने पार्टीले अलग व्यवस्था गरेको छ । प्राइमरी निर्वाचनसम्बन्धी औपचारिक सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न पाइने स्पष्ट गरिएको छ ।
रास्वपाले आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ बनाउँदै उम्मेदवार छनोटमा समान अवसर सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ । पार्टी नेतृत्वका अनुसार सामाजिक सञ्जालको असन्तुलित प्रयोगले संगठनभित्र गलत सन्देश जाने र उम्मेदवार छनोट प्रक्रिया नै प्रभावित हुने जोखिम देखिएपछि कडाइ गर्नुपरेको हो ।
पार्टीको निर्वाचनसम्बन्धी आचारसंहिता तथा उम्मेदवार छनोट सिफारिस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सदस्यहरूलाई आग्रह गरिएको छ । निर्देशन उल्लंघन गर्ने सदस्यका हकमा आवश्यक कारबाही हुन सक्ने संकेत पनि पार्टीले दिएको छ ।















