ललितपुर महानगर ‘संगीतको शहर’का रूपमा युनेस्कोको सूचीमा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०८:५०
shares

काठमाडौँ, कार्तिक २१ । ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संगीतको सिर्जनात्मक शहर (Creative City of Music) को मान्यता दिएको छ।
महानगरले बिहीबार पत्रकार सम्मेलन गरी यो जानकारी सार्वजनिक गरेको हो। युनेस्कोले गत अक्टोबर ३१ (विश्व शहर दिवस) का अवसरमा ललितपुरलाई औपचारिक रूपमा संगीतको सिर्जनात्मक शहरका रूपमा समावेश गरेको महानगरले जनाएको छ।
महानगरका अनुसार संगीत क्षेत्रलाई रोजगारी, सांस्कृतिक सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यले यस दिशामा लामो तयारी गरिएको थियो। परम्परागत संगीतको जगेर्ना गर्दै समकालीन र आधुनिक संगीतको प्रवर्द्धन गर्ने अभियानअन्तर्गत महानगरले युनेस्को सिर्जनात्मक शहर सञ्जालमा सदस्यता पाउने पहल अघि बढाएको थियो।
युनेस्कोको मान्यता प्राप्त गरेसँगै ललितपुर महानगरले आगामी चार वर्षका लागि विस्तृत कार्ययोजना तयार गरेको छ। यस अन्तर्गत संगीतसम्बन्धी अनुसन्धान तथा शैक्षिक कार्यक्रम सञ्चालन, नीतिगत सुधार र स्रोत–साधन विकासका लागि ललितपुर सिर्जनात्मक कला केन्द्र स्थापना गर्ने योजना रहेको बताइएको छ।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार संगीतको माध्यमबाट युवालाई रोजगारीको अवसर सिर्जना गर्न, शहरको सांस्कृतिक छवि अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न र परम्परा तथा आधुनिकताको समिश्रणमार्फत ललितपुरलाई सिर्जनशील केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। युनेस्कोको यो मान्यताले ललितपुरको सांगीतिक गौरवलाई विश्वसामु उजागर गरेको छ, महर्जनले भने ।अब हामीले संगीतलाई रोजगारी र पहिचान दुवैको माध्यम बनाउनेछौं।
सन् २००४ देखि सुरु गरिएको युनेस्को सिर्जनात्मक शहर सञ्जालले संस्कृति र सिर्जनशीलतालाई दिगो विकासको मूल चालकका रूपमा अगाडि बढाउने उद्देश्य लिएको छ। यो सञ्जालमा अहिले विश्वभरका सयौं शहरहरू सदस्य छन्। सञ्जालका आठ प्रमुख विधा हुन् — हस्तकला तथा लोककला, डिजाईन, फिल्म, खानपान, साहित्य, मिडिया कला, संगीत र वास्तुकला। ललितपुर अब यस सञ्जालमा संगीत विधामा समावेश हुने पहिलो नेपाली शहर बनेको छ।












