सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको रहस्यमय मृत्यु : बलात्कारपछि हत्या भएको परिवारको दाबी, न्यायको माग गर्दै आन्दोलन
सुर्खेत र काठमाडौंमा विरोध प्रदर्शन, चार नाबालक प्रहरी नियन्त्रणमा; पोस्टमार्टम रिपोर्ट नआउँदा घटनाबारे अन्योल
वि.सं.२०८२ फागुन २८ बिहीवार १३:१९
shares

काठमाडौँ/सुर्खेत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको संदिग्ध मृत्यु प्रकरणले कर्णाली प्रदेशसहित देशभर आक्रोश बढाएको छ। पीडित परिवारले सामूहिक बलात्कारपछि विभत्स हत्या गरिएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
घटनालाई करिब एक साता पुग्दा पनि ठोस अनुसन्धान नतिजा सार्वजनिक नभएको भन्दै सुर्खेत र काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा प्रदर्शन गर्दै अधिकारकर्मी र दलित अभियन्ताहरूले महिला हिंसा अन्त्य गर बलात्कारीलाई कडा कारबाही गरलगायतका प्लेकार्डसहित दीप प्रज्वलन गरेका थिए।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न भएको आशंकामा चार नाबालक पक्राउ परेका छन्। फागुन २३ गते एक १६ वर्षीय किशोर पक्राउ परेका थिए भने फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखिए पनि सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई प्रदेश अस्पताल कालागाउँ लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै प्रहरीमा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन्।पीडित परिवारले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। कक्षा ११ मा अध्ययनरत इनिसा ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन्। उनकी आमा तिला विकका अनुसार घटनास्थलमा छोरी रक्ताम्मे अवस्थामा फेला परेकी थिइन्। उता उनका बुवा इन्द्रबहादुर विक रोजगारीका लागि दुबईमा रहेकाले छोरीको मृत्युको खबरपछि नेपाल फर्किने प्रयासमा रहेको परिवारले जनाएको छ।



















