NRNA UK मा नयाँ इतिहास: स्कटल्याण्डबाट नेपाली महिलाको केन्द्रीय तहमा ऐतिहासिक प्रवेश
वि.सं.२०८२ पुस २५ शुक्रवार ०९:२९
shares

लण्डन। गैरआवासीय नेपाली संघ यूके (NRNA UK) को इतिहासमा स्कटल्याण्डबाट केन्द्रीय तहमा नेपाली महिलाको प्रतिनिधित्व स्थापित भएसँगै त्यहाँको नेपाली समुदायमा नयाँ उत्साह र गर्वको वातावरण सिर्जना भएको छ।
NRNA UK को २०२३–२०२५ कार्यकालका लागि स्कटल्याण्डबाट शशी कार्की पहिलो पटक केन्द्रीय सदस्यमा मनोनीत भएसँगै संस्थाको इतिहासमा नयाँ अध्याय सुरु भएको थियो। उक्त उपलब्धिले स्कटल्याण्डस्थित नेपाली समुदायको सक्रियता र पहिचानलाई केन्द्रीय तहमा स्थापित गरेको मानिन्छ। यसै ऐतिहासिक यात्रालाई निरन्तरता दिँदै, हाल २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष राजेन्द्र पुडासैनीको नेतृत्वमा गठित NRNA UK कार्यसमितिले स्कटल्याण्डबाट पहिलो पटक महिला प्रतिनिधिका रूपमा रिता कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।यो मनोनयनलाई NRNA UK को इतिहासमै स्कटल्याण्डबाट महिलालाई केन्द्रीय तहमा पुर्याउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
रिता कार्कीको मनोनयनले स्कटल्याण्डभरिका नेपाली महिला तथा समुदायमा थप उत्साह जगाएको छ। संस्थाभित्र महिला सशक्तीकरण, समावेशी प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई सुदृढ बनाउने दिशामा यो निर्णयलाई एक सशक्त कदमका रूपमा मूल्याङ्कन गरिएको छ।यस अवसरमा NRNA UK का सल्लाहकारद्वय शशी कार्की र मोती खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त केन्द्रीय सदस्य रिता कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले स्कटल्याण्डबाट आएको यो प्रतिनिधित्वले संस्थालाई थप सबल र समावेशी बनाउने विश्वास व्यक्त गरेका छन्। उल्लेखनीय छ, यसअघि पनि कमला श्रेष्ठ NRNA UK को उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेकी थिइन्। यस घटनाक्रमले संस्थाभित्र महिलाको नेतृत्वदायी भूमिका र सहभागिता क्रमशः मजबुत हुँदै गएको स्पष्ट संकेत दिएको छ।
NRNA UK भित्र स्कटल्याण्डस्थित नेपाली समुदायको सक्रिय सहभागिता र महिलाको बढ्दो प्रतिनिधित्वले आगामी दिनमा संघलाई अझ समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसले गैरआवासीय नेपाली समुदायभित्र समता, अवसर र प्रतिनिधित्वको नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।
















