काठमाडौं । आज वि.सं. २०८२ साल कार्तिक १५ गते, शनिवारका दिन कार्तिक शुक्लपक्ष एकादशी...

पुरा पढ्नुहाेस्

आज हरिबोधिनी एकादशी, तुलसीको पूजाराधना गरी पर्व मनाइदै

793
shares

काठमाडौं । आज वि.सं. २०८२ साल कार्तिक १५ गते, शनिवारका दिन कार्तिक शुक्लपक्ष एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ देशभर मनाइँदैछ। आजको दिनलाई हरिबोधिनी, प्रबोधिनी वा तुलसी विवाह एकादशी भनेर चिनिन्छ।

आजको दिन भगवान् विष्णु र तुलसी देवीको विवाह गरी विशेष पूजा, आराधना र मङ्गल कार्य सम्पन्न गरिन्छ। धार्मिक ग्रन्थअनुसार, आषाढ शुक्लपक्षको एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा विश्राममा गएका भगवान् विष्णु आजको दिन, अर्थात् कार्तिक शुक्ल एकादशीका दिन ब्युँझने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई “चातुर्मास” भनिन्छ। यस अवधिमा भगवान् विष्णु निद्रामा रहने भएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश, र मङ्गलिक कार्यहरू नगर्ने परम्परा छ। आज विष्णु जाग्रत हुने भएकाले आगामी चार महिनापछि पुनः मङ्गलिक कार्यहरूको आरम्भ हुने धार्मिक विश्वास रहेको छ।  आज घर–घरमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटाले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि तुलसीको मठ नजिकै विष्णुको प्रतीकस्वरूप निगालाको लिङ्ग गाडेर तुलसी र विष्णुको विवाह गरिन्छ। तुलसीलाई विष्णुप्रिया मानिन्छ। धार्मिक परम्परा अनुसार तुलसी देवीको विवाह भगवान् विष्णुसँग हुने भएकाले आजको दिन अत्यन्त पवित्र र शुभ मानिन्छ। तुलसीको मठमा दीप, धूप र नैवेद्य अर्पण गरी विष्णु र तुलसीको संयुक्त पूजा गरिन्छ।

धार्मिक ग्रन्थहरूमा मात्र नभई वैज्ञानिक रूपमा पनि तुलसीको महत्त्व उल्लेखनीय छ। तुलसीको पात, फूल र डाँठको रस रुघाखोकी, ज्वरो, औलो र अन्य संक्रमणजन्य रोगहरूमा उपयोगी हुन्छ। तुलसीको रस शरीरमा लगाउँदा लामखुट्टे टोक्दैन र यसको सुगन्धले विषालु कीटाणु नष्ट हुने बताइन्छ।

तुलसी मठ भएको घरलाई तीर्थ समान मानिन्छ, र विश्वास गरिन्छ कि त्यस्तो घरमा यमदूत पनि प्रवेश गर्न सक्दैनन्। तुलसीको सुगन्धले परिवेश शुद्ध बनाउँछ र सकारात्मक ऊर्जा फैलाउँछ।गरुडपुराण का अनुसार कार्तिक महिनामा विष्णुलाई तुलसीपत्र अर्पण गर्दा अत्यन्त पुण्य प्राप्त हुन्छ।

कथाअनुसार एक तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा दश हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ। आजका दिन भक्तजनहरूले तुलसीको माला लगाउने, तुलसीपत्र अर्पण गर्ने र ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर भगवान् विष्णुलाई जगाउने परम्परा रहेको छ।

आजको दिन काठमाडौं उपत्यकाभित्रका चार प्रसिद्ध नारायणस्थानहरूमा विशेष मेला लाग्ने गर्छ  भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण र इचँगुनारायण, ललितपुरको विशङ्खुनारायण। यी चारै स्थानमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। तीर्थयात्रीहरूले स्नान, पूजा, दर्शन र तुलसी–विष्णु विवाहमा सहभागी भई पुण्य लाभ लिइरहेका छन्। चार नारायणस्थान पुग्न नसक्ने भक्तजनले बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास छ।

देशभरका नारायणस्थान, विष्णु मन्दिरहरूमा आज विशेष पूजा, आरती र दर्शन कार्यक्रम हुँदैछ। बराहक्षेत्र, पनौती, खोटाङ्ग बराहपोखरी, मकवानपुर भैंसे र अन्य तीर्थस्थलहरूमा पनि धार्मिक मेला र स्नानादि सम्पन्न भइरहेको छ।

यसै दिनबाट भीष्मपञ्चक व्रत प्रारम्भ हुने र विष्णु त्रिरात्र व्रतको समाप्ति हुने भएकाले आजको दिन वैष्णव भक्तहरूका लागि विशेष धार्मिक अवसरका रूपमा  मनाइन्छ।हरिबोधिनी एकादशीको दिनलाई “अज्ञानताबाट जागरणको प्रतीक दिवस” पनि भनिन्छ। भगवान् विष्णुको जागरणसँगै भक्तजनले पनि आत्म–जागरण, सत्य, करुणा र धर्म मार्गमा चल्ने संकल्प गर्ने विश्वास रहँदै आएको छ। यसरी, तुलसी विवाह र हरिबोधिनी एकादशीको संगम आजको दिन नेपालभर श्रद्धा, भक्तिभाव र आध्यात्मिक उल्लासका साथ मनाइँदैछ।