युद्धताका टंकमणिजीकै नेतृत्वमा सप्लाई विभाग मजबुत रह्यो : प्रचण्ड
बुटवलमा टंकमणिको शालिक अनावरण, प्रचण्डले गरे साहसिक योगदानको स्मरण
वि.सं.२०८२ भदौ १५ आइतवार १९:३३
shares

बुटवल, १५ भदौ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को अर्धकद शालिक अनावरण गरेका छन् । आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय प्रांगणमा आयोजित कार्यक्रममा शालिकसँगै “टंकमणि : एक क्रान्तिबीज” नामक पुस्तक पनि सार्वजनिक गरिएको हो ।
सो अवसरमा प्रचण्डले जनयुद्धकालीन योगदानको चर्चा गर्दै टंकमणि सप्लाई विभागका प्रमुखका रूपमा जोखिमपूर्ण जिम्मेवारी वहन गर्दै सफलतापूर्वक युद्धलाई अघि बढाएको उल्लेख गरे । उनले भने, “दश वर्षे जनयुद्ध सफल बनाउन सप्लाई विभागको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो, जसमा टंकमणिको योगदान साहसिक र ऐतिहासिक छ ।”
कार्यक्रममा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले टंकमणि केवल माओवादी नेता नभई समाजकै साझा नेतृत्वको प्रतीक भएको बताए । उनले पालिकाले परिवर्तनका लागि लडेका योद्धाहरूलाई सम्मान गर्ने परम्परा अघि बढाइरहेको स्पष्ट पारे ।
सोही कार्यक्रममा माओवादीका वरिष्ठ नेता वर्षमान पुन, सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायत नेताहरूको उपस्थिति थियो ।
स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको स्मरण गर्दै सहभागीहरूले उनको योगदानलाई ऐतिहासिक भन्दै श्रद्धाञ्जली अर्पण गरे ।



















