पश्चिम नेपालको मौलिक पर्व : गौरा पर्व आज धुमधामसहित मनाइँदै
वि.सं.२०८२ भदौ १५ आइतवार ०८:४३
shares
फाइल तस्वीर
काठमाडौँ, १५ भदौ ।
आज भाद्र शुक्ल अष्टमीका दिन देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताले आफ्नो मौलिक र ऐतिहासिक पर्व गौरा धुमधामसहित मनाइरहेका छन् । उमा–महेश्वरसहित दुबोको पूजा गर्ने परम्परा रहेको यस पर्वलाई स्त्रीकेन्द्रित चाडका रुपमा पनि लिइन्छ ।
धार्मिक विश्वासअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन वर्षायाममै कठोर तपस्या गर्दा मनोकामना पूरा भएको स्मृतिमा यो पर्व सुरु भएको मानिन्छ । त्यसबेलादेखि नै जल, जंगल र जीवजन्तुको भय नगरी गरिएको तपस्याको सम्झनामा पश्चिम नेपालमा गौरा पूजाको चलन सुरु भएको जनविश्वास छ ।
गौरा पूजामा पाँच वनस्पति—कुश, काँस, सामा, तीतेपाती र अपामार्ग (कतै तिल पनि)—एकसाथ राखेर देवीको स्वरूप तयार गरिन्छ । त्यसलाई गाउँकै प्रमुख व्यक्तिले घरभित्र ल्याउने परम्परा रहिआएको छ । विशेष कुरा के भने देवी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता जोडिएको छ ।
यस पर्वको अर्को विशेषता बिरुडा हो । केराउ, मस्याङ, मास, जौ र गुराँसका दाना भाद्र शुक्ल पञ्चमीमै भिजाएर अष्टमीका दिन देवीलाई चढाइन्छ र त्यसैलाई प्रसादस्वरूप भक्तजनमा बाँडिन्छ । पूजा दुई–तीन दिनसम्म चल्ने र मंगल वा शनिबार बाहेकका दिन देवीलाई नजिकैको नदी, कुवा वा पोखरीमा विसर्जन गरिने चलन छ । विसर्जनपछि गाउँलेले भजन, देउडा गीत र नृत्य गर्दै उल्लास मनाउने गर्छन् ।
देशका अन्य भागमा महिलाले तीजलाई विशेष पर्वका रूपमा मनाएजस्तै पश्चिम नेपालमा महिलाले गौरालाई ठूलो चाडका रूपमा मान्छन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई “उज्याली गौरा” भने कृष्ण अष्टमीमा पर्ने गौरालाई “अँध्यारी गौरा” भन्ने प्रचलन छ । पहिलोपटक व्रत बस्नेले भने उज्याली गौराबाटै सुरु गर्नुपर्ने धार्मिक विधान छ । दुबोको समेत पूजा गर्ने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ, त्यसरी नै सन्तानवृद्धि होस् भन्ने कामना गर्दै उमा–महेश्वरको उपासना गर्ने धार्मिक परम्परा रहिआएको छ ।
सुदूरपश्चिमका गाउँघर मात्र नभई राजधानी काठमाडौँको टुँडिखेलमा पनि आजका दिन देउडा गीत, नृत्य र सांस्कृतिक कार्यक्रम गर्दै गौरापर्व मनाउने प्रचलन रहिआएको छ ।


















