काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

देशभर १६५ क्षेत्रमै मतगणना सुरु

विकट क्षेत्रमा ढिलाइ, हेलिकप्टर र पैदल ढुवानीपछि गणना तीव्र

572
shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ। केही हिमाली तथा दुर्गम जिल्लामा मतपेटिका ढुवानीमा ढिलाइ भए पनि अहिले सबै स्थानमा गणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

भौगोलिक विकटता र मौसमका कारण केही स्थानमा मतपेटिका मतगणना स्थलमा पुर्‍याउन समय लागेको थियो। उच्च हिमाली जिल्लामा भने मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको थियो।सङ्खुवासभा र गोरखाबाट ल्याइएका मतपेटिका आज बिहान मात्रै गणना केन्द्रमा पुगेपछि त्यहाँ गणना सुरु गरिएको छ। त्यस्तै मुगुमा मतपेटिका मानिसले बोकेर ढुवानी गरेपछि दिउँसो ४ बजेदेखि मतगणना सुरु गरिएको जानकारी दिइएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म ५८ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको विवरण आयोगको प्रणालीमा दर्ता भइसकेको छ। केही स्थानमा प्राविधिक समस्याका कारण तथ्याङ्क प्रविष्टिमा ढिलाइ देखिए पनि अधिकांश क्षेत्रमा मतगणना तीव्र गतिमा अघि बढिरहेको छ।प्रत्यक्षतर्फको गणना सकिएका क्षेत्रहरूमा समानुपातिकतर्फको मतगणना पनि सुरु भइसकेको आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फ हालसम्म करिब तीन लाख ७० हजार मतको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ।आयोगले आइतबार बेलुकीसम्म प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।