सूचना प्रविधिमै समृद्धि सम्भव छ – मन्त्री गुरुङ
वि.सं.२०८२ साउन १६ शुक्रवार १७:५०
shares
काठमाडौँ,१६ साउन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउने दिशामा अग्रसर हुन आह्वान गरेका छन्। कान्तिपुर सिटी कलेज (केसीसी) द्वारा आयोजित “केसीसी एक्जीबिसन २०२५” को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई दक्ष जनशक्ति आवश्यक भएको भन्दै, युवालाई आइटी क्षेत्रमा रोजगारीका अपार सम्भावना रहेको बताए।
सरकारले यसै आर्थिक वर्षभित्रै फोर जी विस्तार, फाइभजी लञ्च र आईटी पूर्वाधार निर्माण जस्ता योजनाहरू अघि सारेको छ देश–विदेशमा सूचनाप्रविधिले ठूलो विकास गरिसकेको छ, नेपालमा पनि सम्भावना छन्,” मन्त्री गुरुङको भनाइ थियो, तर नीति, पूर्वाधार र जनशक्तिको कमीले व्यवहारमा उतार्न कठिन भएको हो।
कार्यक्रममा क्यानकी अध्यक्ष सुनैना घिमिरेले पनि आइटीमार्फत स्वदेशमै व्यवसाय र रोजगारी सिर्जना भइरहेका उदाहरण प्रस्तुत गर्दै आइटीको ज्ञान र मेहनत गर्ने चाहना हुने युवालाई यहाँ नै अवसर छ,भन्दै उनले क्यान नेपालले यस्ता युवालाई सहयोग र प्रोत्साहन गर्दै आएको उल्लेख गरिन्। नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) का सचिव डा. रविन्द्र प्रसाद ढकालले भने इञ्जिनियरको अभाव, विदेश पलायन र स्वदेशमा अनुकूल वातावरणको कमीलाई चिन्ताको विषय बताए। दुई दिनसम्म चल्ने प्रदर्शनीमा आइटी क्षेत्रमा नविनतम अवधारणा र समाधानहरू प्रस्तुत गरिएको छ। विद्यार्थीहरूले बनाएका अनलाइन सिस्टम, एआई मोडेल, मोबाइल एप्स, साइबर सेक्युरिटी समाधान लगायतका प्रोजेक्टले प्रदर्शनीको आकर्षण बढाएको छ।


















