मानव अधिकार आयोग भन्छ- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचनलाई प्रश्रय नदेऊ !

0
4

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको छ ।  आयोका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन गरेको तथा सामाजिक सञ्जालको माध्यमबाट आफना विचार तथा अभिव्यक्ति प्रकट गरेको आधारमा पत्रकार एवम् सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुर्व्यवहार लगायतका घटनाहरु भइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आयोगले यस सम्बन्धी विभिन्न सूचना तथा जानकारी र पछिल्लो घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै समाचार प्रकाशन गरेबापत जिम्मेवार अधिकारीले पत्रकार तथा प्रकाशनगृहमाथि धम्की दिइएको र पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको लगायतका सार्बजनिक भएका घटना समेतबाट आयोग जानकार रहेको उल्लेख छ ।

आयोगले भनेको छ – ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा प्रत्येक व्यक्तिलाई बिनाहस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको उल्लेख छ । नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुका साथै धारा १९ मा सञ्चारको हकअन्तर्गत प्रकाशनमा पूर्वप्रतिबन्ध लगाउन नपाइने र धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ ।

उल्लिखित घटनाहरु मानव अधिकारका मूल्य मान्यता विपरीत हुनुका साथै नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको विपरित छन् । यस्ता कार्यले लोकतान्त्रिक मूल्य मान्यतामा प्रहार हुनुका साथै, नागरिक स्वतन्त्रतालाई समेत कुण्ठित गर्दछ ।’आयोगले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकलगायतका संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारका विभिन्न तहमा रहेका जिम्मेवार पदाधिकारीहरुबाट नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने गतिविधिहरु हुनु चिन्ताको विषय भएको आयोगले बताएको छ ।

संविधानप्रदत्त सूचनाको हकको प्रत्याभूतिका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अहम भूमिका रहने बताउदै आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनप्रदत्त सूचना तथा सञ्चारको हकको संरक्षण गर्दै पत्रकार तथा सञ्चार गृहमाथिको धम्की, दुर्व्यवहार जस्ता कार्य बन्द गर्न, यस्ता घटना दोहोरिन नदिने अवस्थाको सिर्जना गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा रक्षा गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, आयोगले पत्रकारिताको आचारसंहिता र व्यवसायिक मर्यादाको सीमाभित्र रहेर सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी आमसञ्चार जगतको गरिमा कायम गर्ने कार्यमा भूमिका खेल्न आयोग सम्पूर्ण पत्रकार तथा सञ्चार गृहहरुलाई समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here