काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिहरूले बिना घोषणा पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने व्यवस्था रहेको स्पष्ट पारेका छन् ।शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । भारत हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूले भन्सार बिन्दुमा घोषणा नगरीकनै पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन सक्नेछन् । यसबाहेक, थप रकम वा भारतीय मुद्रा ल्याउन चाहेमा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था रहेको पौडेलले बताए । उनका अनुसार घोषणा गरेर अधिकतम ६ लाख रुपैयाँसम्म भारतीय नोट नेपाल ल्याउन पाइनेछ ।
पाँच सयको भारतीय नोट निषेध
पौडेलले भारतको पाँच सय रुपैयाँ दरका नोट नेपालमा स्वीकार नगर्ने निर्णयको कारण पनि स्पष्ट पारे । उनका अनुसार भारतले नेपालबाट फिर्ता नलिने भएकाले पाँच सय रुपैयाँका भारतीय नोट ल्याउन र प्रयोग गर्न रोक लगाइएको हो ।
पर्यटकका लागि डिजिटल भुक्तानीको सहजता
पर्यटन प्रवर्द्धन र विदेशी आगमनलाई प्रोत्साहित गर्न सरकारले क्युआर कोड तथा कार्डमार्फत निश्चित सीमा भित्र भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरेको पौडेलले उल्लेख गरे । यसले पर्यटकलाई सजिलो हुने र विदेशी मुद्रा प्रयोग सहज हुने विश्वास व्यक्त गरे ।
कालोधनलाई वैधता दिने प्रस्तावमा सरकारको चासो
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा अर्थमन्त्री पौडेलले अहिले देशको वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कानुनी सुधार आवश्यक भएको बताए । तर, व्यक्तिले जम्मा गरेर राखेको कालोधनलाई कर तिरेर वैधता दिने प्रस्तावलाई भने उनले गम्भीर विषयको संज्ञा दिए । यस खालको प्रस्तावले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) अन्तर्गतको ग्रे लिस्टबाट हट्न समस्या पार्न सक्ने चिन्ता उनले व्यक्त गरे ।
सिमाना नाकामा चेकजाँचको झन्झट कम
त्यस्तै, भन्सार नाका पार गरेपछि बारम्बार हुने चेकजाँचप्रति आलोचना हुँदै आएको विषयमा अर्थमन्त्री पौडेलले सुधारको संकेत दिए । उनका अनुसार सवारीसाधनले भन्सार नाका पार गरेपछि अन्य स्थानहरूमा अनावश्यक चेकजाँच नगर्ने व्यवस्था गर्न लागिएको छ ।पौडेलले अहिलेको कानुनी र व्यवस्थापकीय सुधारले सीमा क्षेत्रमा सहजता ल्याउने र आर्थिक अनुशासनलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।