विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नले घेरिए । शुक्रबार कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेको माओवादी केन्द्रको आलोचना भइरहेका बेला शनिबार बिहान विराटनगरमा पत्रकारले तेर्साएका प्रश्नले प्रचण्ड दिक्क देखिए । उनले भिजिट भिसा प्रकरणका प्रश्नको जवाफ अलि असहज भएर भए पनि आफ्नै किसिमले दिदै गए तर जनार्दन शर्माको बारेमा सोधिएको प्रश्नमा भने आक्रोशित नै भए ।
पत्रकारले प्रश्न सोधे- जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको हो ? प्रचण्डले रिसाउदै जवाफ दिए- भनेकै छैन भने, त्यो बेकारको कुरा हो ।विमानस्थलमा पत्रकारहरुले प्रश्नको बर्षा नै गरे प्रचण्डलाई पहिलो प्रश्न सोधियो- प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ? अर्को प्रश्न सोधियो- तपाइको उपाध्यक्ष अग्नि सापकोटासँग यो मुद्दा साट्नुभएको हो ? पत्रकारले अर्को प्रश्न सोधे- यो दुई बुँदे सहमति किन गर्नुपर्यो ? अख्तियारले छानबिन गर्ने भन्ने सहमति गर्नुपर्छ र ? कांग्रेस एमालेले माओवादीलाई थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?
प्रचण्डलाई अर्को प्रश्न सोधियो- गृहमन्त्रीले सदनमा धम्काउने, तर्साउने, उजुरी गर्नेलाई कारवाही गर्ने भनेको के हो ? प्रचण्डलाई पत्रकारले सोधे- उधारो सहमति भएन हजुर ? माओवादीका कार्यकर्ताले असन्तुष्टि जनाएको बारे के भन्नुहुन्छ ? सत्तासँग सम्बन्धित केहि कुरा छ यो सहमतिमा ? संसदको अवरोध गलत भएको थियो ? सरकारमा जाने त होइन नि ? भिजिट भिसाले कांग्रेससँग को सम्बन्ध सुमधुर भयो है ? पुर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नयाँ कानुन बनाउनु पर्छ ?
प्रचण्डले पत्रकारका प्रश्नको जवाफ दिदै भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको स्पष्ट गरे । उनले माओवादीका कार्यकर्ताले विषय नबुझेर आलोचना गरेको बताउदै बुझेपछि आलोचना गर्न छोड्ने बताए । गृहमन्त्रीले संसदमै एक महिनामा छानबिनको संयन्त्र बनाउने प्रतिबद्धता गरेको उल्लेख गर्दै प्रचण्डले छानबिन नभए फेरी लड्ने बताए ।