आज हरिशयनी एकादशी : घरका मठमा तुलसी रोपियो

0
5

काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा आज देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको बिरुवा रोपेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीमा राखिएको तुलसीको दल आजको दिन घरघरमा रोप्ने परम्परा रहेको छ ।धार्मिक मान्यता अनुसार आजको दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्न जाने विश्वास गरिएको छ । त्यसै आधारमा आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजिन्छ ।

आजदेखि सुरु हुने चतुर्मास अवधिमा हिन्दू धर्मावलम्बीहरूले घर, मठमन्दिर र पवित्र स्थानहरूमा तुलसी रोप्ने चलन छ । आगामी चार महिनासम्म तुलसीको नियमित पूजा–आराधना गरिन्छ र कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा विशेष विधिपूर्वक तुलसी मेला सम्पन्न गरिन्छ । धार्मिक शास्त्रअनुसार हरिबोधिनी एकादशीका दिन भगवान् विष्णु शयनबाट उठ्ने विश्वास छ । यस अवधिमा पर्ने आठवटा एकादशीमा विष्णुको विशेष पूजा, व्रत र पाठ गरिन्छ ।

यता, राजधानीका प्रमुख विष्णु मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । बूढानीलकण्ठको नारायणस्थान, चार नारायण, बालाजु, इचङ्गुनारायण लगायतका मन्दिरमा भक्तजनहरू पूजाआजा र दर्शनका लागि पुगेका छन् ।यसै दिनदेखि विभिन्न स्थानमा चतुर्मास पुराण पनि सुरु हुन्छ । धार्मिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई विशेष एकादशीको रूपमा लिइन्छ ।

वैज्ञानिक दृष्टिले पनि तुलसीलाई मानव स्वास्थ्य र वातावरणका लागि लाभदायक मानिन्छ । तुलसीले बढी अक्सिजन उत्सर्जन गर्ने भएकाले वातावरण शुद्ध बनाउन सहयोग पुग्ने विज्ञहरू बताउँछन् । साथै, तुलसी औषधीय गुणले भरिपूर्ण भएकाले विभिन्न आयुर्वेदिक औषधि निर्माणमा यसको प्रयोग गरिन्छ ।वातावरण प्रदूषण बढ्दै गएको वर्तमान अवस्थामा घरघरमा तुलसी रोप्नु धार्मिक मात्र नभई वातावरणीय र स्वास्थ्यका हिसाबले समेत सकारात्मक कदम हुने विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here