अविरल वर्षापछि दाउन्ने सडक बन्द, पाल्पामा राति सवारी सञ्चालन निषेध

0
4

नवलपुर/पाल्पा, २१ असार ।

    लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको ६४ मोड नजिक सडक चिप्लो र हिलो भएपछि सवारी साधन पास हुन नसक्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दिएको जानकारी अनुसार, लगातारको पानीले सडक हिलाम्य र चिप्लो बनेपछि गाडीहरू उकालो चढ्न नसकेर अवरुद्ध भएको हो ।पश्चिमबाट पूर्वतर्फ आउने सवारीसाधन अर्थात बर्दघाटतर्फबाट आउने गाडीहरू पास भइरहे पनि दुम्किबासबाट बर्दघाटतर्फ जाने सवारीहरू भने रोकिएका छन् । हाल दुवै दिशाका गाडीहरू सुरक्षित स्थानमा होल्ड गरिएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् भने लामो दूरीका यात्रुहरू सडक खुल्ने पर्खाइमा छन् । सुरक्षाकर्मी र स्थानीय निकायले सडक खुलाउने प्रयास जारी राखेको बताइएको छ । यसैबीच, पाल्पामा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले रात्रीकालीन समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम पूर्वानुमान अनुसार यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ । त्यही कारण उच्च जोखिमयुक्त सडक खण्डहरूमा रातको समयमा सवारी सञ्चालन नगर्न अनुरोध गरिएको हो ।सुवेदीका अनुसार लगातार वर्षासँगै पहाडी क्षेत्रमा ढुंगा, माटो खस्ने, पहिरो जस्ता घटनाको सम्भावना बढेकाले यात्रुहरूको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो ।रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको सडक खण्डहरूमा सिद्धबाबा–राम्दी सडकखण्ड, तानसेन–रिडी–तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु–रामपुर सडकखण्ड रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, यातायात व्यवसायी, स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई जारी सूचनाको पालना गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको जनाएको छ । प्रहरी र सुरक्षाकर्मीहरू आवश्यक सामग्रीसहित पहिरो आउन सक्ने ठाउँहरूमा खटिइसकेको र अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here