काठमाडौँ । अमेरिकाले गत जनवरीदेखि एक हजार भारतीय नागरिकलाई डिपोर्ट गरेको छ । भारतीय विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि अमेरिकाबाट एक हजार भारतीय नागरिकलाई भारत फिर्ता पठाइएको जानकारी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विवरण नदिए पनि यी मध्ये लगभग ६२ प्रतिशत मानिसहरू व्यावसायिक उडानबाट भारत फर्किएको बताएका छन् । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैध कागजात बिना देशमा बसोबास गर्ने मानिसहरूलाई निष्कासन गर्न अभियाननै चलाएका थिए ।
यस वर्षको फेब्रुअरीमा अमेरिकाले अमेरिकी सैन्य विमानमा सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गरेको थियो । यसपछि, देश निकाला गरिएका मानिसहरूलाई हथकडी लगाइएको छलफल सुरु भएको थियो ।विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले भने- ‘भारत र अमेरिकाले आप्रवासन मुद्दाहरूमा नजिकको स्तरमा सँगै काम गरिरहेका छन् । भारतले कसैलाई पनि फिर्ता लैजानु अघि उनीहरूको राष्ट्रियता प्रमाणित गर्छ ।’
अमेरिकाले लगभग १८ हजार भारतीय नागरिकहरूलाई पहिचान गरेको छ जसलाई अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेको विश्वास छ । यस महिनाको सुरुमा, भारतस्थित अमेरिकी दूतावासले चेतावनी जारी गर्दै तोकिएको अवधिभन्दा बढी समय अमेरिकामा बस्दा देश निकाला हुन सक्छ र व्यक्तिमाथि स्थायी प्रतिबन्ध पनि लाग्न सक्ने बताएको छ